हरिशयनी एकादशीको महत्व
आषाढ़ मासको शुक्ल पक्षको एकादशीलाई नै ‘देवशयनी’ वा हरिशयनी एकादशी भन्ने गरिन्छ । यसलाई ‘पद्मनाभा’ एकादशी पनि भन्ने चलन छ । प्रत्येक वर्ष आजकै दिनदेखि भगवान विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीका दिन फर्कनु हुन्छ भन्ने चलन छ । यसै दिनदेखि चतुर्मासा व्रतको सुरुवात पनि हुन्छ । यस दिनदेखि भगवान विष्णु चार महिनाका लागि क्षीरसागरमा गई शयन गर्नुहुन्छ भन्ने मान्यता पनि छ । त्यसैले यस एकादशीलाई ‘हरिशयनी एकादशी’ भनिएको हो र चार महिनापछि आउने कार्तिक महिनाको शुक्ल पक्षको एकादशीलाई ‘प्रबोधिनी वा हरिबोधिनी एकादशी’ भन्ने गरिन्छ ।
यी चार महीनामा भगवान विष्णु क्षीरसागरमा शयन गर्नु हुने भएकाले विवाह आदि कुनै पनि शुभ कार्य गरिदैन। धार्मिक दृष्टिले यी चार महिना भगवान विष्णुको निद्रा काल मानिन्छ। यस अवधिमा तपस्वीहरू भ्रमण गर्दैनन, ती एकै स्थानमा बसेर तपस्या (चातुर्मास व्रत) गर्दछन। यस कालमा केवल ब्रजक्षेत्रको यात्रा गर्ने चलन छ, किनभने यी चार महिनामा भू-मण्डल (पृथ्वी) का समस्त तीर्थहरू ब्रजक्षेत्रमा आएर निवास गर्दछन । ब्रह्म वैवर्त पुराणमा यस एकादशीको विशेष माहात्म्य उल्लेख गरिएको छ । यस व्रतलाई पालना गर्नाले प्राणीका समस्त मनोकामनाहरू पूर्ण हुन्छन, सबै पाप नष्ट हुन्छन तथा भगवान हृषीकेश प्रसन्न हुनुहुन्छ । सबै एकादशीका दिन भगवान विष्णुको पूजा-आराधना गरिन्छ, परंतु यसै दिनको रात्रिदेखि भगवानको शयन प्रारम्भ हुने भएकाले उनको विशेष विधि-विधानले पूजा गर्ने चलन छ। यस दिन उपवास गरेर भगवान विष्णुको प्रतिमालाई आसनमा आसीन बनाई षोडशोपचार सहित पूजन गरी, तिनको हातलाई शंख, चक्र, गदा, पद्मले सुशोभित पारेर तिनलाई पीताम्बर, पहेला वस्त्र र दोसल्लाले सजाउने काम हुन्छ । पंचामृतद्वारा स्नान गराएर, तत्पश्चात भगवानको धूप,दीप, पुष्प आदिद्वारा पूजा गरी आरती गरि प्रार्थना गर्नु-
हे जगन्नाथ ! तपाई निद्रित भएपछि संपूर्ण विश्व निद्रित हुनपुग्छ र तपाई जागा हुदा संपूर्ण विश्व तथा चराचर पनि जागृत हुन जान्छ ।
यसरी प्रार्थना गरेर भगवान विष्णुको पूजा गर्नु पर्छ। तत्पश्चात ब्राह्मणलाई भोजन गराएर स्वयं आफूले फलाहार गर्नु पर्छ । रात्रिकालमा भगवानको मंदिरमा नै शयन गर्नु पर्छ तथा भगवानको भजन र स्तुति गर्नु पर्छ । आफू स्वयं सुत्नु पहिले नै भगवानलाई पनि शयन गराउनु पर्छ । यस दिन अनेक परिवारमा महिलाहरु पारिवारिक परम्परानुसार देवतालाई शयन गराउने गर्दछन । यी चार महिनाका लागि आफ्नो रूचि अथवा अभीष्ट-अनुसार नित्य व्यवहारका पदार्थहरू त्याग र ग्रहण गर्ने चलन छ। मधुर स्वरका लागि गुड़, दीर्घायु अथवा पुत्र-पौत्रादिको प्राप्तिका लागि तेल, शत्रुनाशादिका निम्ति कडुवा तेल, सौभाग्यका लागि मीठो तेलको र स्वर्ग प्राप्तिका निम्ति पुष्पादि भोग आदि त्याग्नु पर्छ । देह शुद्धि वा सुंदरताका निम्ति परिमित प्रमाणको पंचगव्य, वंश वृद्धिका लागि नियमित दूध, कुरुक्षेत्रादिका समान फल प्राप्तिका लागि पात्रमा भोजन तथा सर्वपापक्षयपूर्वक सकल पुण्य फल प्राप्त गर्नका लागि एकभूक्त, नक्तव्रत, अयाचित भोजन वा सर्वथा उपवास गरी व्रत ग्रहण गर्ने चलन छ । साथै चातुर्मासीय व्रतमा केहीबर्जित पनि छन। जस्तै -पलंगमा सुत्नु, यौन संसर्ग गर्नु, झूठो बोल्नु, मासु, मह तथा दही-भात आदिको भोजना, मूला, परवल एवं बैंगुन आदि तरकारी खान पनि निषेध गरिएको छ । जो श्रद्धालुले यस एकादशीलाई पूर्ण विधि-विधानपूर्वक भगवानको पूजन गर्दै व्रत गर्दछन, ती व्यक्ति मोक्ष प्राप्त गर्न सक्षम हुन्छन ।
Post a Comment